सर्लाही, ११ असाेज । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ५ मिनेट मात्रै ढिला भएको भए आफू मारिने अवस्था रहेको दाबी गरेका छन् ।
आन्दोलनकारीले घर जलाइदिएपछि हाल भक्तपुरको गुन्डुमा डेरा लिई बसेका एमाले अध्यक्ष ओलीले आफूलाई भेट्न आएका पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको टोलीलाई त्यस दिन सरकारी निवास बालुवाटारबाट भाग्दाको क्षण सुनाएका हुन् ।
महासंघका अध्यक्ष पासाङ शेर्पा नेतृत्वको टोलीसँग ओलीले त्यस दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई चाहिँ घाइते मात्र बनाउने तर आफूलाई मार्ने नै योजना रहेको दाबी गरेका हुन् ।
‘पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए। शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाईचाहिँ मार्ने खालकै योजना रहेछ’, ओलीले भने, ‘मार्न खोजेका हुन् तर पाएनन् ।
अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो, तर हामी केही पनि गर्न सक्दैनौँ भनेर अन्तिममा सेनाले भगाइसम्म दियो। त्यहाँबाट निकाल्यो भनौँ न । नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ । त्यो अवस्थाबाट पनि जोगिया छ ।’
उनले थपे, ‘देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरू यो त महाअपराधिक घटना, क्रियाकलाप हो । यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौँ ।
एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रोचाहिँ अलिकति कमजोरी भयो । यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्त्वहरू, अपराधि तत्त्वहरू विभिन्न ठाउँ-ठाउँमा पनि पुग्या रहेछन् ।’
भ्रष्टाचारविरुद्ध गत भदौ २३ गते जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोलीबाट १९ युवा मारिएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र बनेको थियो ।
त्यस दिन प्रदर्शनकारी सरकारी तथा नेताका घर तोडफोड र आगजनीमा उत्रिए। त्यस क्रममा प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमै पसेर कांग्रेस सभापति देउवा दम्पतीलाई कुटिपट गरे भने भक्तपुरस्थित ओलीको निवास पनि जलाए ।
ओलीलगायत शीर्ष नेताको ज्यान नै जोखिममा परेपछि नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी उनीहरूलाई शिवपुरी लगेर राखेको थियो ।
नेपाली सेनाको ब्यारेकबाट ९ दिनपछि असोज २ गते मात्र ओली एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत कार्यकर्ताको संरक्षणमा गुन्डुस्थित डेरामा सरेका हुन् ।