सर्लाही, १३ असाेज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले लिखित रूपमा राजीनामा नदिँदा अन्योल थपिदै गएको छ ।
मुख्यमन्त्री सिंहलाई उनको पार्टीको संसदीय दलले कारवाही गरिसकेको अवस्थामा पनि नेकपा एमाले र लोसपाको अधीनस्थ रही राजीनामाको हठ कायमै राखेपछि अन्योलता थप्दै गएको र सरकार गठनका लागि तयारी गरिरहेका दलहरु मुख्यमन्त्री सिंहको राजीनामाको प्रतीक्षामा बस्न बाध्य छन् ।
संवैधानिक व्यवस्थाअनुसार पदबाट मुख्यमन्त्रीले लिखित रूपमा राजीनामा बुझाएपछि मात्रै अर्को सरकार गठनको बाटो खुल्ने भए पनि मुख्यमन्त्री सिंहले आजसम्म आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छैनन् ।
आइतबारसम्म नयाँ सरकार गठन गर्ने तयारीमा रहेका चार दलबिच सहमति भइसके पनि सिंहको राजीनामा न आउदा अनेक आशंकाको भुमरीमा दलहरु परेका छन् ।
चर्चा परिचर्चा अनुसार चार दलबीच नेतृत्व मात्रै फेरेर पुरानै समीकरणअनुसार सरकार निर्माण गर्ने सहमति भएको छ । तर उक्त सहमति भएको २४ घन्टा बढी बितिसक्दा पनि संवैधानिक अड्चनका कारण नयाँ नेतृत्वमा सरकार गठन हुन नसकेको नेताहरुको भनाई छ ।
संवैधानिक व्यवस्थाअनुसार केही दिनका लागि सरकार निर्माणको सम्भावना टरेको हो । मुख्यमन्त्रीको लिखित राजीनामाबिना अर्को सरकार बनाउन मिल्दैन ।
‘सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिए सरकारले पुनः विश्वासको मत लिने संवैधानिक अधिकार छ, ३० दिनभित्र सरकारले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्रीले पदबाट लिखित रूपमा राजीनामा दिए मात्रै ३० दिन अगावै सरकार निर्माणको बाटो खुला हुन सक्छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख्यमन्त्री सिंहलाई राजनीतिक निकासका लागि मार्ग प्रसस्त गर्न आग्रह गरे पनि मुख्यमन्त्री सिंह सो आग्रहलाई वेवास्ता गदै एमाले र लोसपाको ललिपपमा अल्झेर हठवादी चरित्रको प्रदर्शन गरिरहेका छन् ।
कांग्रेसले सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता गरिसके पनि नेकपा एमाले र लोसपा दोहरो भूमिका निर्वाह गरिरहेका कारण पनि नँया सरकारको बाटो खुल्न सकेको छैन ।
स्रोतका अनुसार मुख्यमन्त्री सिंह असहाय अवस्थामा पुगी दशै पछि राजीनामा दिने मानसिकतामा रहेको बुझिएको छ ।तर प्राप्त जानकारी अनुसार मुख्यमन्त्री सिंह भने तत्काल राजीनामा दिने पक्षमा रहेका छैनन् ।
राजीनामा वा विश्वासको मत बारेमा स्वयम सिंह पनि दोसाँधमा रहेका छन् ।
यता कांग्रेस नेतृत्वमा पुरानो समीकरण अनुसार नै सरकार गठन गर्ने चार दलबिच सहमति भएको बताइन्छ । शुक्रबार नै मधेशमा चार दलबिच नयाँ सरकार बनाउने सहमति भएको थियो ।
कांग्रेस, एमाले, जनमत र लोसपाको समीकरणमा नयाँ सरकार बनाउने चार दलबिच लिखित सहमति नै भइसकेको दावी गरिदै छ । यद्यपि कुन दललाई कति वटा मन्त्री दिने ?
त्यो सहमति भइनसकेको नेताहरुको भनाई छ । एक नेताका अनुसार तत्कालका लागि मुख्यमन्त्रीको मात्रै टुंगो लगाइएको छ ।