सर्लाही, १५ असाेज । वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्न यूएई जानुअघि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पाैडेल र नेपाली टिमसँग एउटा छुट्टै आत्मविश्वास देखिन्थ्यो ।

सबै खेलाडीको हाउभाउ अनि कुराकानी देख्दा पक्कै केही ठुलो सफलता हात पर्दैछ भन्नरे बुझ्न सकिन्थ्यो । टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई हराएर शृंखला नै जित्ने त्यो आत्मविश्वास यसपटक उत्कृष्ट थियो ।

बिदाइको बेला पनि रोहितसहित सबै खेलाडीले वेस्ट इन्डिजसँग खेल्न उत्साहित रहेकोसँगै जित्छाैं भन्ने मानसिकता देखाइरहेका थिए ।

जेनजी आन्दोलनले आलो घाउ सेलाउन नपाउँदै नजिकिएको नेपालीहरुको महानचाड दशैंको बेला विदेशमा गएर खेल्नुपर्ने बाध्यताकै बीच पनि खेलाडीहरूको आत्मविश्वास र जोश भने कति पनि घटेको थिएन ।

उनीहरू टेस्ट राष्ट्र वेष्ट इन्डिजलाई हराएर नेपाली क्रिकेटमा नयाँ आयाम ल्याउन चाहन्थे भने दशैंको बेला जीतको कोसेली अनि सारा नेपालीहरुलाई एकजुट बनाउने र कम्तीमा केही दिनकै लागि भएपनि खुशी फर्काउने लक्ष्यमा थिए ।

देशमा विषम् परिस्थिति सिर्जना भएको दुई साता नबित्दै नेपाली क्रिकेट टोलीले यी सबै लक्ष्य पूरा गर्यो । त्यतिमात्र होइन वेष्ट इन्डिज जस्तो विश्व च्याम्पियन बनिसकेको र टी-२० मा छुट्टै छाप समेत बनाएको क्यारेबियन टिमलाई हराएपछि अहिले अन्तर्राष्ट्रिय जगतमा पनि नेपाली क्रिकेटको फेरि चर्चा बढेको छ ।

यसअघि विगतमा जितको निकै नजिक पुगेर पनि चुक्ने गरेको नेपालले यस पटक खेल मात्र होईन वेष्ट इन्डिजसँगको सिरिज नै आरामदायी तरिकाले जित्दै क्रिकेट विश्वलाई फेरि चकित पारेको छ । अब नेपाल टेष्ट राष्ट्र लाई समेत हराउन सक्षम छ भन्ने सन्देश नेपालले दिएको छ ।

गत वर्ष अमेरिका र वेष्ट ईन्डिजमै भएको टी२० विश्वकपमा नेपाले दक्षिण अफ्रिकालाई हराउन निकै नजिक पुगेर पनि जम्मा १ रनले चुकेको थियो । त्यो १ रनको हार सायदै कसैले भुल्न सक्ला । तर यसपटक टेष्ट मान्या प्राप्त टिमसँग नेपालले ऐतिहासिक सिरिज खेल्दै ऐतिहासिक जित हात पार्नु चानचुने कुरा पक्कै होइन ।

त्यो पनि पहिलो र दोस्रो खेल जित्दै एक खेल अगावै सिरिज आफ्नो कब्जामा पारेपछि वेस्ट इन्डिजका कप्तानले समेत नेपालको प्रशंसा नगरी बस्नै सकेनन् । उनले नेपालको टिमलाई कमजोर मान्न नहुने टिप्पणी गरे ।

नेपालले सिरिज २-१ ले जित्दै टेस्ट राष्ट्र विरुद्ध खेलिएको पहिलो टी२०आई सिरिज नै आफ्नो पक्षमा पार्न सफल भयो । यसअघि एसोसिएट टिम विरुद्ध मात्रै टी२०आई सिरिज खेल्दै आएको नेपालले अब टेस्ट राष्ट्र सँग पनि सिरिज खेल्न र जित्न पनि सक्षम भएको कुरा प्रमाणित गरेर देखाएको छ ।

नेपालले बनाउँदै आएको इतिहासको साक्षी यूएई बन्दै आएको छ । नेपालले ऐतिहासिक विश्वकपका लागि छनोट भएकोदेखि ऐतिहासिक द्विपक्षीय शृंखला जितसम्म संयोगवश सबै यूएईमै खेलेको बेला भएको छ र यही स्थानबाट नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुँदै आएको छ ।

यस शृंखला नेपालबाहिर भएपनि दर्शकको साथ भरपुर थियो । नेपाली समर्थकहरू उल्लेखनीय मात्रामा देखिन्थे । यसले क्रिकेटप्रतिको माया र सबै छरिएर रहेका नेपालीहरूलाई एकजुट बनाउने माध्यम क्रिकेट भएको दर्साएको छ ।

इतिहासको साक्षी यूएई, नयाँ अध्यायको सुरुवात

नेपाली क्रिकेटको अधिकांश इतिहासको साक्षी बन्दै आएको यूएईमा यसपटक पनि अर्को एउटा इतिहास थपियो । नेपालले वेस्ट इन्डिजसँग खेलेको ऐतिहासिक शृंखलामार्फत टेस्ट राष्ट्रविरुद्धको जित र शृंखला जित दुवैको कीर्तिमान बनायो ।

यसअघि सन् २०१२ मा भएको एसीसी ट्रफी इलिटको पहिलो उपाधि पनि नेपालले यही भूमिमा जितेको थियो । त्यसमाथि पनि उक्त जित शारजाहमै आएको थियो । नेपाल र यूएईले संयुक्त रूपमा उपाधि बाँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *