काठमाडौं , १७ असाेज । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् ।

सुरक्षा र भू-राजनीतिक मामिलामा विज्ञहरूसँगको छलफलका क्रममा पुटिनले भने, ‘के हामी कागजी बाघ हौं? यदि हामी कागजी बाघ हौं भने, नेटो के हो त ?’

पुटिनले थपे, ‘हाम्रा लागि सबैभन्दा जरुरी कुरा आत्मविश्वास कायम गर्नु हो र हामी आत्मविश्वासी छौं ।’

केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै रूसलाई ‘कागजी बाघ’ भनेका थिए ।

केही दिनअघि ट्रम्पले रूसलाई ‘कागजी बाघ’को संज्ञा दिँदै युक्रेनले युद्धमा गुमेको आफ्नो भूमि फिर्ता लिन सक्ने बताएका थिए ।

ट्रम्पको यस भनाइलाई रूस–यूक्रेन युद्धको विषयमा उनको धारणामा आएको ठूलो परिवर्तनको रूपमा अर्थ्याइएको थियो ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको एक पोस्टमा उनले युरोप र नेटोको समर्थन तथा रूसको अर्थतन्त्रमाथि बढ्दो दबाबका कारण यूक्रेनले युद्ध सुरु भएको प्रमुख सीमा फिर्ता पाउन सक्ने बताएका थिए।

‘यूक्रेन र रूसको सैन्य तथा आर्थिक स्थिति पूर्ण रूपमा बुझिसकेपछि मेरो सोच बदलिएको छ,’ उनले भनेका थिए ।

‘पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन् र यो युक्रेनले उचित कदम चाल्ने समय हो,’ उनले भनेका थिए ।

अमेरिकालाई युक्रेनमा लामो दूरीको मिसाइल आपूर्ति नगर्न चेतावनी

समाचार संस्था एपीका अनुसार, पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारेका हुन् ।

कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस–अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए । तर उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे ।

‘यस्ता मिसाइलहरूले केही क्षति पुर्‍याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन’, पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे ।

ट्रम्पसँगको शिखर बैठकको प्रशंसा

राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत अगस्टमा अलास्कामा सम्पन्न शिखर सम्मेलनलाई फलदायी भन्दै विशेष प्रशंसा गरे । उनले ट्रम्पसँग संवाद गर्न सहज महसुस भएको भन्दै युक्रेनी सङ्कट समाधानका सम्भावित उपायबारे चर्चा गर्न पाउनु सकारात्मक भएको टिप्पणी गरे ।

त्यस्तै उनले सन् २०१० को न्यु–स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुने भएपछि त्यसलाई अझ एक वर्षका लागि विस्तार गर्ने आफ्नो प्रस्तावलाई पुनः दोहोर्‍याए । उक्त सन्धिले अमेरिका र रूस दुवैलाई एक हजार ५५० भन्दा बढी तैनाथ आणविक हतियार तथा ७०० तैनाथ मिसाइल र बमवर्षकमा सीमित गरेको छ ।

‘यदि अमेरिकालाई यो आवश्यक छैन भने हामीलाई पनि आवश्यक छैन’, पुटिनले भने, ‘तर हामी हाम्रो आणविक क्षमताप्रति पूर्ण रूपमा आत्मविश्वासी छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *