सर्लाही, १८ असाेज । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो छ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ । यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ ।
मधेशको वीरगन्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ । त्यस्तै गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ ।
विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कम मात्र वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा भने गोदावरी स्टेसनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ ।
कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागले जारी गरेको बुलेटिनअनुसार विशेष गरी कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिएको छ । वर्षा गराउने प्रणाली पूर्व र उत्तर-पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।