सर्लाही, १९ असाेज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंका सबै नाकाबाट लामो दुरीका गाडी आज नपठाइएको जानकारी दिए । ‘काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौं भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।

बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिए । ‘जजसले बस टिकट काटेका थिए, उनीहरुको पैसा काउन्टरहरुबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ,’ सुवेदीले भने, ‘सडक यातायात सहज भएपछिमात्र टिकट काट्न सुरु गर्न भनेका छौं ।’

वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउे निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *