सर्लाही, २० असाेज । लगातारको अविरल वर्षाका कारण सर्लाही जिल्लाका विभिन्न स्थानमा बाढी र पानी जम्दा ठूलो जनधनको क्षति भएको छ । जिल्लाभर गरेर जम्मा १,६१९ घरधुरी विस्थापित भएका छन् ।
आज (साेमबार) बिहान करिब ८ बजे समयमा शनिबार परेको वर्षाका कारण चक्रघट्टा गाउँपालिका–७ चैनपुरस्थित जय माँ भवानी पि.एस. ईट्टा उद्योगको ईट्टा पोल्ने मियान घर भत्किँदा करिब रु. २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी, ब्रह्मपुरी गाउँपालिका–१ का १० घरधुरी बाढीले घरमा पानी जमाउँदा बस्न नसकेर स्थानीय धर्मशालामा आश्रय लिएका छन् ।
बलरा नगरपालिका–५ अर्नाहाका ५० देखि ५५ घरधुरी आफन्तकहाँ गएर बसेका छन् ।
कौडेना गाउँपालिका–३ पर्सा टोलका ५० घरधुरीमध्ये ४० घरधुरी आफन्तकहाँ र १० घरधुरी शैलेस महाराज मन्दिरको धर्मशालामा बसोबास गरिरहेका छन् ।
त्यसै गरी कौडेना गाउँपालिका–५ छपकैया टोलका २५ घरधुरी पनि घरमा पानी पसेपछि आफन्तकहाँ गएर बसेका छन् ।
यस्तै, कौडेना गाउँपालिका–३ हुलाकी सडक खण्डमा बाटो कटान भएको छ । मर्मतका लागि स्थानीय पालिकासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, चक्रघट्टा गाउँपालिका–१ मा रहेको लखन्देही खोलाको बाढीले २० घर पूर्ण रूपमा भत्काएको छ भने बलरा नगरपालिका–३ र ४ का १८ वटा कच्ची घरमा सामान्य क्षति पुगेको छ ।
ईलाका प्रहरी कार्यालय फेन्हराका अनुसार शिवनगर र सक्रौल क्षेत्रको पानी घट्दै गएको र स्थानीयहरू आफ्ना घर फर्किन थालेका छन् । अन्य मातहत क्षेत्रहरूमा पनि पानी घट्दै गएपछि पुनःस्थापनाको प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ ।