सर्लाही, २१ असाेज । जेनजी युवाहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।
काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ । अरु दिनमा त्यो बाटो पूरै खुल्ला हुने गर्दथ्यो ।
जेनजी पुस्ताका युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् ।
उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।
उनीहरुको दबाबपछि प्रधानमन्त्री सुशीला कार्कीले गएराति अबेरसम्म गृहमन्त्री र गृहसचिवसहित चारवटै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल समेत गरेकी थिइन् ।
प्रहरी अधिकारीहरुले केन्द्रीय सुरक्षा समितिको निर्णय र लिखित आदेशको माग गरेका थिए । त्यसपछि प्रधानमन्त्री कार्की आज थप परामर्श र छलफलमा छिन् ।
जेनजीको एक समूहले मंगलबार बिहान नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराएको छ ।