सर्लाही, २१ असाेज । सन् २०२६ मा छिमेकी राष्ट्र भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० मेन्स विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगिसकेको छ ।
युएईको शारजाहमा वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पार्दै ओमान पुगेको नेपालले त्यहाँ विश्वकपअघि दुई अभ्यास खेलमा पनि जित हात पारेको छ ।
नेपाली क्रिकेट टोलीको अहिलेको एक मात्र लक्ष्य भनेको तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुने रहेको छ । ओमानमा छनोटको खुड्किलो पार गर्न सके नेपालले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउनेछ ।
सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दोस्रो पटक विश्वकप खेल्न दश वर्ष कुर्नुपरेको थियो । तर यस पटक भने नेपाली खेलाडीको आत्मविश्वास, टोलीको लय, राम्रो तयारी र उच्च आत्मविश्वासका कारण नेपाली टोली लगातार टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।
वेस्ट इन्डिजसँग खेलेर तयारी
नेपाली क्रिकेट टोलीले पछिल्लो पटक अष्ट्रेलियामा टप एण्ड कप, सारजहामा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेलेर विश्वकप छनोटका लागि तयारी गरेको छ ।
यस्तै विश्वकप छनोट अघि अभ्यास खेलमा पनि नेपालले राम्रो प्रदर्शन गरेको छ । विशेषगरी वेस्ट इन्डिजसँगको तीन खेलको टी-२०आई सिरिज नेपालको लागि विश्वकप छनोटअघि राम्रो तयारी भएको छ ।
कप्तान रोहित कुमार पौडेलले वेस्ट इन्डिज विरुद्धको सिरिजले नेपाली टिमलाई राम्रो फाइदा पुगेको बताएका छन् ।
‘समग्रमा राम्रो तयारी भएको छ । सबै जना राम्रो सेपमा छन् । सबैजना तयार छन् । वेस्ट इन्डिज सिरिजले कन्फिडेन्स दिएको छ,’ नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा रोहितले भनेका छन्, ‘तर त्यो विगत भइसक्यो । हामीले विश्वकप छनोटमा फेरि सुरुदेखि नै सुरुवात गर्नुपर्छ । त्यो सबैलाई थाहा छ । हामीले जुन ब्राण्डको क्रिकेट खेल्यौं त्यसले कन्फिडेन्स दिएको छ । मुख्य टुर्नामेन्ट अब सुरु हुन्छ।’

कप्तान रोहितले वर्ल्ड क्रिकेटमा अब नेपाल क्रिकेटको पनि चर्चा सुरु भइसकेको बताए ।
टेस्ट राष्ट्रसँगको ऐतिहासिक सिरिज जित्दै नयाँ अध्यायको सुरुवात गरेको नेपाली टोली अहिले आत्मविश्वासले भरिएको छ ।
कप्तान रोहित कुमार पौडेलले पनि बारम्बार त्यही भन्दै आएका छन् । उनले युएई जानुअघि वेस्ट इन्डिजलाई पराजित गर्छौं भनेर जुन आत्मविश्वासका साथ भनेका थिए नेपाली टिमले त्यो पूरा गरेर देखाइसकेको छ ।
अहिले फेरी नेपाल अर्को महत्वपूर्ण मोडमा आइपुगेको छ र त्यसमा पनि कप्तान रोहित सहित नेपाली टिमको आत्मविश्वास उस्तै छ ।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा दक्षिण अफ्रिका जस्तो टिमसँग जितनजिक पुगेर १ रनले चुक्दा नेपाली क्रिकेटमा ठूलो चर्चा कमाएको थियो ।
एक वर्षपछि नेपालले अर्को टेस्ट राष्ट्र वेस्ट इन्डिज विरुद्ध ऐतिहासिक सिरिज मात्र खेलेन पहिलो पटक टेष्ट मान्यता प्राप्त टिमविरुद्ध सिरिज नै जितेपछि अहिले फेरि नेपाली क्रिकेटको चर्चा बढ्न थालेको छ ।
लगातार दोस्रोपटक विश्वकपमा पुग्ने लक्ष्य
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपालले अब लगातार विश्वकप खेल्छ भन्ने सबैको अपेक्षा थियो । तर त्यसपछि नेपाल टी-२० विश्वकप छनोटमा लगातार असफल हुँदा फेरि अर्को विश्वकप पुग्न दश वर्ष नै लाग्यो ।
विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगिता खेल्न आफैँमा चानचुने कुरा होइन । त्यसैले नेपालले दश वर्षपछि फेरि टी-२० विश्वकपमा छनोट हुँदा यसको महत्व अझ धेरै बुझ्यो ।
अहिले भने नेपाली टोली विगतमा जस्तो धेरै समय कुर्न चाँहदैन । त्यसैले यस पटक ओमानमा छनोटको शीर्ष तीनमा रहेर टी-२० विश्वकपमा पुग्न चाहन्छ ।
अहिलेसम्म नेपालले दुई पटक टी-२० विश्वकप खेलिसकेको छ । अब नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा छ ।

सन् २०२६ को टी-२० विश्वकप छिमेकी राष्ट्र भारत र श्रीलंकामा आयोजना हुने भएकोले पनि नेपालको लागि यसपटक छनोट भएमा अझ धेरै राम्रो अवसर हुनेछ । किनभने भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) जस्तो विश्वकै चर्चित लिग हुँदैछ । यदि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट हुन सके खेलाडीहरूको लागि आइपीएलको फ्रेन्चाइज टिमलाई प्रभावित पार्ने अवसर हुनेछ । यस्तै नेपाली टिमलाई पनि भारत लगायत टेष्ट राष्ट्रहरूसँग द्विपक्षीय सिरिज खेल्ने बाटो अल्न सक्छ ।
अहिले टोलीमा रहेका खेलाडीले लगातार सँगै खेलिरहेकोले यस पटक नेपाली टिमले विश्वकपमा स्थान बनाउनेमा कप्तान रोहित पौडेल पनि विश्वस्त देखिएका छन् । ‘यो टिमले पछिल्लो २-२ वर्षदेखि सँगै खेलिरहेका छौं । जुन ब्राण्डको क्रिकेट खेलिराछौं म एकदम कन्फिडेन्ट छु विश्वकपमा छनोट हुन्छौं भनेर’ रोहितले भने, ‘तेस्रो पटक विश्वकप पुग्ने चान्स छ । सबैले राम्रोसँग खेले मलाई लाग्छ हामी छनोट हुन्छौं । पोजिटिभ माइन्डसेट छ । तेस्रो पटक विश्वकप सबै जनाको फोकस छ।’
टिमभित्र प्रतिस्पर्धा
नेपालले पछिल्लो पटक सन् २०२२ मा ओमानमा टी-२० विश्वकप छनोट खेल्दा केही मुख्य खेलाडीहरू अनुपस्थित थिए । जसले गर्दा महत्वपूर्ण समयमा नेपालले दबाब झेल्न सकेन ।
तर यस पटक भने नेपाली टिम लयमा मात्र छैन खेलाडीहरू पनि लयमा छन् । पहिलो रोजाईँमा पर्नका लागि पनि टिमभित्रै तिव्र प्रतिस्पर्धा छ । जसले गर्दा कुनै पनि खेलाडीले राम्रो प्रदर्शन नगरे खेल्न पाउँदिन कि भन्ने डर हुन सक्छ ।
अझ टी-२० का लागि आवश्यक अलराउण्डर नेपाली टिममा धेरै छन् । अझ भन्ने हो भने विकेटकिपर बाहेक लगभग सबै खेलाडीले बलिङ गर्न सक्छन् । अनि आवश्यक परेको खण्डमा एकाध खेलाडी छाडेर सबैले ब्याट पनि चलाउन सक्छन् । जुन नेपाली टिमका लागि राम्रो पक्ष हो ।

कप्तान रोहित पौडेलले पनि अलराउण्डरहरू धेरै हुनु राम्रो भएको बताए । साथै उनले नेपालको बलियो पक्ष फिल्डिङ भएको र ब्याटिङमा अझै केही सुधार गर्न सकिने बताए ।
‘हाम्रो बलियो पक्ष फिल्डिङ हो । हाम्रो अलराउण्ड एबिलिटी छ । जसले बलिङ, ब्याटिङ, फिल्डिङ गर्न सक्छ । अलराउण्डर भएपछि सबै डिपार्टमेन्टमा कभर गर्नुहुन्छ र त्यसले गर्दा टिमलाई फाइदा हुन्छ । धेरै जसो एरिया कभर भइसक्यो । ब्याटिङमा अझ राम्रो बिल्ड गर्न सक्छौं’ रोहितले क्यानसँगको कुराकानीमा भनेका छन्, ‘टिम ब्यालेन्स छ र सबैजना उत्साहित छौं।’