सर्लाही, २१ असाेज । ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ । मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन् ।

बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ । शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान लिइसकेको छ । 

अनुसन्धानका क्रममा जालसाजी गरिएको रकमको एक भाग शिल्पाको बैंक खातामा जम्मा भएको खुलेपछि प्रहरीले उनको बयान लिएको हो ।

मुम्बईका दीपक कोठारी नामका व्यापारीले शिल्पा र उनका पतिविरुद्ध रकम ठगीको आरोप लगाएका छन् । 

व्यापारी कोठारीका अनुसार सन् २०१५ देखि २०२३ को बीचमा उनले आफ्नो व्यापार बढाउनका लागि शिल्पा र राजको दम्पत्तीलाई ६०.४८ करोड भारु दिएका थिए । तर, उक्त रकम उनीहरूले आफ्नो निजी खर्चमा प्रयोग गरेको ती व्यापारीको आरोप छ ।

कोठारीका अनुसार  सुरूमा १२ प्रतिशत ब्याजदरमा ७५ करोड रुपैयाँ ऋण दिएका थिए। तर, करबाट बच्नको लागि लगानीको रूपमा देखाइएको थियो । उनीहरूले अप्रिल २०१५ मा ३१.९५ करोड रुपैयाँ र सेप्टेम्बर २०१५ मा २८.५३ करोड रुपैयाँ लिए। जुन ब्याजसहित फिर्ता हुनुपर्ने हो, भएन ।

शिल्पाले सेप्टेम्बर २०१६ मा कम्पनीको निर्देशक पदबाट राजीनामा दिएकी ती व्यापारीको भनाइ छ। रकम लिएर पनि शिल्पा र उनका पतिले वाचा पूरा नगरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *