सर्लाही, २१ असाेज । विभिन्न पार्टीमा रहेका राजनीतिककर्मीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनको पहल लिन आह्वान गरेका छन् ।

अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारीसहितका २६ जना राजनीतिकर्मीले यस्तो आह्वान गरेका हुन् ।

राजनीतिलाई भ्रष्टाचार मुक्त गर्ने मागका साथ जेनजीले आयोजना गरेको शान्तिपूर्ण र गरिमापूर्ण आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन दिनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले यस्तो आह्वान गरेका हुन् ।

‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुनै सक्दैन,’ उनीहरूले भनेका छन्, ‘त्यसैले, आ–आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ ।’

जेनजीको आन्दोलन हुने परिस्थिति अचानक नआएको उनीहरूको बुझाइ छ । उनीहरूका अनुसार राजनीतिमा संस्थागत भएको भ्रष्टाचारविरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूबाट आवाज उठिरहेका थिए ।

राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले नागरिकको आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो र जेनजी नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएको उनीहरूको बुझाइ छ ।

‘पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको छ,’ उनीहरू लेख्छन्, ‘लामो समयदेखि राजनीतिक पार्टीहरूको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेनजीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।’

जेनजी आन्दोलनको माग र सन्देश स्पष्ट रहेको उल्लेख गर्दै उनीहरू लेख्छन्, ‘नेपालीहरु राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहन्छन्, त्यसका लागि राजनीतिक दलहरू जिम्मेवार बनून् भन्ने चाहन्छन् । राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहन्छन् ।’

तर, मुख्य राजनीतिक दलका नेताहरुले अझै पनि यो सन्देश नसुनेझैँ गरेको उनीहरूको बुझाइ छ । अगाडि लेख्छन्, ‘विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् । आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्ने छ ।’

मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्नबाट रोक्नका लागि सबै दलका दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी पुनर्गठनको पहल लिनुपर्ने २६ राजनीतिककर्मीको आह्वान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *