Washington, DC

सर्लाही, २१ असाेज । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिमा संकुचन आउने विश्व बैंकले जनाएको छ । 

‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ गर्दै विश्व बैंकले भदौ चौथो हप्ता भएको जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा देखिने अनुमान गरेको हो । 

विश्व बैंकका अनुसार चालू वर्ष आर्थिक वृद्धिदर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ । १.५ देखि २.६ प्रतिशत संकुचनको सम्भावना पनि विश्व बैंकले औँल्याएको छ । 

गत आर्थिक वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि भएको नेपाली अर्थतन्त्रमा यस वर्ष ४.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । तर जेनजी प्रदर्शन, बाढी र पहिरोलगायत विभिन्न कारणले वृद्धिदर घटेर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । 

त्यसपछिको आगामी आर्थिक वर्ष भने ४.७ प्रतिशत वृद्धिदर हासिल हुने विश्व बैंकको अनुमान छ । 

खासगरी विदेशी पर्यटकीय आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ । 

यसबाहेक लगानी मनोभावना कमजोर हुँदा निजी क्षेत्रको लगानी र गैरजलविद्युतीय निर्माणमा असर गर्नेछ । त्यसैगरी समयमै वर्षात् नभएको हुँदा धान उत्पादन हुने प्रदेशमा असर गरेकाले कृषि क्षेत्रमा पनि यसको असर पर्ने विश्व बैंकले उल्लेख गरेको छ । 

पुनर्निर्माणलाई अगाडि बढाउने सरकारी प्रतिबद्धता र सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछिको वर्षमा आर्थिक सुधार हुने विश्व बैंकको अपेक्षा छ । 

सन् २०२४ मा दक्षिण एसियाको समग्र कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.४ प्रतिशत थियो । यस वर्ष थोरै वृद्धि भएर ६.६ पुग्ने अनुमान छ । त्यस्तै २०२६ मा ५.८ प्रतिशत मात्रै वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। त्यसपछि सन् २०२७ मा भने पुनः ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ । 

यस क्षेत्रमा सबैभन्दा बढी भुटानको (७.३ प्रतिशत) र सबैभन्दा कम नेपालको (२.१ प्रतिशत) आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *