सर्लाही, २१ असाेज । सर्लाहीको मलंगवा नगरपालिका–५ भाडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ ।
आज (मंगलवार) करिब साढे ११ बजे भाडसरमा रहेको लखनदेही खोलाको बाँध नजिक नुहाउन गएका चार जनामध्ये एक जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, नुहाउने क्रममा खोलाको पानीको भेलमा परेर मलंगवा नगरपालिका–५ भाडसरका १८ वर्षीय ओम ठाकुर बेपत्ता भएका थिए । अन्य तीन जना भने सकुशल बाहिर निस्किएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी भाडसरबाट प्रहरी सहायक निरीक्षक जलन्धर प्रसाद यादवको कमाण्डमा टोली खटिएको थियो । खोजतलासका क्रममा करिब १ बजे ओम ठाकुरलाई खोलामै पानीमाथि तैरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उक्त युवकलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यसैबिच सर्लाहीको पर्सा गाउँपालिका–१, स्थित हर्दी खोलामा हिजो फेला परेको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन् । खोलामा पानी घटेको बेला अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको थियो ।
मृतक महिलाको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र अहिलेसम्म कोही खोजी गर्न नआएका डिएसपी राईले बताए ।