सर्लाही, २२ असाेज । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा अर्को उजुरी परेको छ ।
बुधबार युवराज पौडेल सफलले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । सुरुमा आफैँ प्रहरी कार्यालय पुगेका सफलको जाहेरी लिन प्रहरीले नमानेपछि उनले हुलाकमार्फत पठाएका हुन् ।
काठमाडौँ परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उजरी आएको पुष्टि गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाउने बताए ।
यसअघि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उनीहरुविरुद्ध जाहेरी दिएको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विध्वश मच्चाउन उनीहरुको प्रमुख भूमिका रहेको सफलको जाहेरीमा उल्लेख छ ।
बालेनले यो विध्वशको योजना बनाएको, डिजाइन गरेको र सामाजिक सञ्जालबाट जेनजी समूहलाई उस्काउने, विभिन्न घटना घटाउन निर्देशन दिएको आरोप सफलले लगाएका छन् ।
अर्का विपक्षी सुदन गुरुङले सिंहदरबार, सर्वोच्च अदालत लगायत जलाउन र सम्पूर्ण जेनजी आन्दोलनलाई विध्वंश मच्चाउन समेत भूमिका खेलेको आरोप छ ।
बालेनले २ वर्ष पहिले नै उनकी श्रीमती चढेको गाडी प्रहरीले चेक गर्दा सिंहदरबार जलाइदिन्छु भनेर लेखेको समेत सफलले आफ्नो जाहेरीमा उल्लेख गरेका छन् ।
आन्दोलनका क्रममा र आन्दोलनरत जेनजीलाई ओलीको राजीनामापछि साँझ स्टाटस लेखेर आन्दोलन रोक्न, नेपाली सेनासँग वार्ता गर्न, संसद् विघटन गराउन भनेको उल्लेख छ । यी कुराले बालेनले जेनजी आन्दोलनको नेतृत्व गरेको देखिने जाहेरीमा उल्लेख छ ।
विदेशीको इसारामा अहिले प्रधानन्यायाधीश र न्यायाधीशहरुको राजीनामा माग्न लगाउन पनि उनको भूमिका रहेको सफलको आरोप छ । सुदन गुरुङको टोली आन्दोलनमा मिसिएपछि मात्रै गोली चलेको, वास्तविक जेनजीहरु घुसपैठ भयो भनेर फर्किएका कारण उनीहरुमाथि छानविन आवश्यक रहेको उल्लेख छ ।
बालेन्द्र र सुदनलाई राजद्रोह सम्बन्धी कसुरमा हदैसम्मको कारबाही माग गरिएको छ । यस्तै सुदन गुरुङले भने जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका थिए ।
उनले दिएको उजुरी पनि प्रहरीले आयोगमै पठाइदिने भएको छ ।
