सर्लाही, २२ असाेज । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास प्रहरीमाथि कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् ।

४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिका स्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

डिएसपी राईका अनुसार असोज १७ गते साँझ वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकी गोडैतामा ढुंगामुढा र आक्रमण भएको थियो । सो क्रममा चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको दुईवटा दाँत भाँचिएको र अन्य पाँच जना प्रहरी सदस्य घाइते भएका थिए ।

आक्रमणका क्रममा ढुंगामुढा र बाँसको भाठा प्रयोग गरिएको र प्रहरी चौकीमा राखिएका तीनवटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटना दुर्गा पूजाका लागि चन्दा उठाउने विवादसँग जोडिएको बताइएको छ । गोडैता नगरपालिका–७ का स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिलराय यादवसहितले कुटपिट गरेको घटनापछि विवाद चर्किएको थियो । उक्त विषयमा छलफलका लागि प्रहरी चौकी पुगेका वडाध्यक्ष दास पक्षले प्रहरीमाथि आक्रमण गरेको आरोप छ ।

हाल कारिल यादवलाई कुटपिट गरेको ठेकेदार अनिलराय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् भने वडाध्यक्ष दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको डिएसपी राईले बताउनुभयो । उहाँका अनुसार वडाध्यक्ष दासविरुद्ध कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोसम्बन्धी मुद्दामा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

यसैबीच, वडाध्यक्ष दासको पक्राउको विरोधमा आज (बुधबार) बिहानदेखि गोडैता बजार बन्द गरिएको छ । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासलाई राजनीतिक पूर्वाग्रहका कारण पक्राउ गरिएको आरोप लगाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *