सर्लाही, २३ असाेज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।
उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा उनीहरूले हस्ताक्षर गरेको घोषणा गरेका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउनेछ। यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ।’
साथै उनले यो सम्झौता अरब र मुस्लिम देश, इजरायल तथा यसका सबै छिमेकी र अमेरिकाको लागि एक महत्त्वपूर्ण र ऐतिहासिक दिन भएको पनि उल्लेख गरेका छन् ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले यस विषयमा मध्यस्थता गरेकामा कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।
