सर्लाही, २३ असाेज । इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि नेपालका युवक विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा पलाएको छ । तर उनको अवस्था कस्तो छ भनेर अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन ।
नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताए ।
बिहीबार बिहान अनलाइनखबरसँग टेलिफोन कुराकानी गर्दै राजदूत पण्डितले भने, ‘विपिनको बारे धेरैले सोधिरहनु भएको छ तर अहिलेसम्म उनको जीवनको बारेमा केही जानकारी छैन ।’
परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको तर थाहा हुन नसकेको बताउँछन् । मन्त्रालयका एक कर्मचारी विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउनसक्ने बताउँछन् ।
‘इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोला भन्ने खालको खबर आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
विपिनको भिडियो पुरानो बुधबार सार्वजनिक
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन ।
बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेन्डको पुरानो भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् ।
