सर्लाही, २६ असाेज । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।
आइतबार बिहान अनलाइनखबरसँग टेलिफोनमा कुराकानी गर्दै राजदूत पण्डितले भने, ‘विपिनको अवस्था अझै अज्ञात छ र उनको अवस्था कस्तो छ भन्ने थाहा हुन सकेको छैन ।’
मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको बताएको पण्डितले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘विपिनबारे केही नयाँ जानकारी आए सबैभन्दा पहिले तपाईंलाई खबर गर्छौं भनेर इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकृतहरुले भनेका छन् ।’
उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपुर्याउन अनुरोध समेत गरे ।
