सर्लाही, २६ असाेज । हङकङले भविष्यमा संख्यामा कम तर शक्तिशाली आँधीबेहरीको सामना गर्न सक्ने मौसम विज्ञले बताएका छन् । हङकङ मौसम विज्ञान समाजका प्रवक्ता लेउङ विङले यस्तो चेतावनी दिएका हुन् ।
विङ हङकङ अब्जर्भेटरीका पूर्वसहायक निर्देशक पनि हुन् । उनको भविष्यवाणीमा आँधीबेहरी लामो समयसम्म रहने र सम्भावित रूपमा विगतको भन्दा अझ विनाशकारी हुने उल्लेख गरेका छन् ।
उनले बलियो छालहरूको बलबाट सम्पत्तिलाई जोगाउन काठको प्यानल र थप ब्रेकवाटरको प्रयोग गर्न आग्रह गरेका छन् ।
‘यदि हामीले विश्वभरका वैज्ञानिकहरूको मुख्यधाराको राय पालना गर्यौँ भने जलवायु परिवर्तनको प्रभावमा उष्णकटिबन्धीय चक्रवातको संख्या बढ्ने छैन, बरु घट्नेछ,’ विङले यो पनि भनेका छन् कि, ‘पश्चिमी प्रशान्त र दक्षिण चीन सागरमा प्रतिवर्ष औसतमा लगभग ३० उष्णकटिबन्धीय चक्रवातको सम्भावना हो तर भविष्यमा यो संख्या घटेर २६ देखि २८ हुन सक्छ। थोरै कमी हुनेछ ।’
यद्यपि, संख्यामा कम भए पनि आँधी भने शक्तिशाली हुने र यसले विगतमा भन्दा बढी विनाश निम्त्याउने उनको आँकलन छ ।
‘सुपर आँधीहरूको अनुपात बढी हुनेछ । स्वाभाविक रूपमा, यसले विनाश पनि बढी हुनेछ,’ विङलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘आँधीको हावा बलियोसँग वृद्धि भएको अवस्थामा विनाशकारी शक्ति पनि बढ्नेछ ।’
