सर्लाही, २७ असाेज । टीओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।

पेस्तोल बोक्ने काठमाडौं ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले बताए ।
‘भाइरल भिडियो जेनजी आन्दोलनको नभएको पुष्टि भयो । उनले भिडियो खिचेको मिति र टिकटकमा पोस्ट भएको मिति दाँज्दा भिडियो पूरानो रहेको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले भने ।

‘एजेन्ट होइन, फ्रि तिब्बत समर्थक हुनसक्छन्’

टीओबी लेखिएको कालो कपडा लेखाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेन–जी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप–तिब्बतीयन ओरिजल ब्लड’ समेत लेखिएको थियो ।

तेन्जनको समूह किन जेन–जी आन्दोलनमा गयो र के उनीहरु फ्रि तिब्तका एजेन्ट हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानले उनी फ्रि तिब्बतका एजेन्ट नरहेको प्रहरीले बताएको छ ।

‘फ्रि तिब्बत समर्थक हुनसक्ने देखिएको छ । उनका पूर्खा तिब्बतबाटै नेपाल आएको बुझिएको छ’ अनुसन्धान अधिकृत भन्छन् ।

यो बाइक राइडरहरुको समूह समेत रहेकाले उनीहरु बेला–बेलामा बाइक राइडिङमा जाने गरेका थिए । अधिकांशका बुलेट बाइक थिए भने सबैजसोले साइलेन्सर समेत पड्किन किसिमको बनाएका थिए ।

आन्दोलनमा जानुको मुख्य उद्देश्यमा यो समूहका व्यक्तिले अघिपछि बाइक पड्काउन नपाउने भएकाले आन्दोलनमा बाइक पड्काउन पाउने हुँदा गएको बताएका छन् । अरु भन्दा फरक भएर बाइक पड्काएपछि सबैको नजरमा परिने र भाइरल बन्ने मनसाय रहेको दाबी उनीहरुले प्रहरी समक्ष गरेका छन् ।

प्रहरीले उनको मोबाइलबाट कुनै त्यस्तो अवाञ्छित गतिविधिको संकेत अहिलेसम्म फेला पारेको छैन । यो समूहका अन्य सदस्यमाथि थप बुझ्ने काम भने भइरहेको प्रहरीले बताएको छ । हाकिङलाई समेत फोन गरेर प्रहरी कार्यालयमा आउन भन्दै प्रहरीले बोलाएको छ ।

को हुन् तेन्जेन

आफ्नो ज्याकेटमा लेखेजस्तै तेन्जनका पुर्खाहरु तिब्बतबाटै काठमाडौं आएका हुन् । जब प्रहरीले उनलाई नियन्त्रणमा लिएर आइतबार उनको कोठामा गयो प्रहरी अधिकारीहरु नै छक्क परे ।

तिब्बतियन ओरिजिनल ब्लड भनेर ज्याकेटमा लेखेका तेन्जनको कोठमा भने भारतीय आर्मीको ड्रेस लगाएर खिचिएको एक तस्बिर भित्तामा थियो ।

प्रहरीले उक्त तस्बिरबारे सोधखोज गर्दा उनले आफ्नो बाबुको तस्बिर रहेको बताए । बाबु भारतीय आर्मीबाट अवकाश भएको उनले बताएका छन् ।

अवकाशपछि ठमेलको होटलमा काम गरेका उनका बाबुको करिब पाँच वर्ष पहिले निधन भइसकेको छ ।

तेन्जेन परिवारको एक्लो छोरा हुन् । उनकी एक दिदी छन् । आमा र दिदी भारतमा बस्ने गरेको उनले बताएका छन् । कपनको पैयुँटारमा कोठा लिएर बस्दै आएका तेन्जेन १० कक्षासम्म अध्ययन गरेका छन् ।

उनी पछिल्लो समय गाँजा सेवन गर्ने गरेको पाइएको छ । गाँजा सेवन गर्ने गरेको उनले प्रहरी समक्ष स्वीकार समेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।

तेन्जने पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम समेत गरेका थिए । अहिले भने पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् ।

तेन्जेन शरीरभरी विभिन्न प्रकारका ट्याटु नै ट्याटु छन् । उक्त ट्याटु भने आफूले सिक्ने क्रममा खोपेको, आफूलाई सिकाउने क्रममा पनि खोपिएको उनले बताएका छन् ।

पछिल्लो समय बाइक राइडमा जाने गरेको उनी बताउँछन् । अविवाहित तेन्जेनले आफ्नो पुर्खा तिब्बतीयन रहेको, बौद्ध क्षेत्रमा बस्ने हुँदा तिब्बती मूलका व्यक्तिहरूसँग सम्बन्ध रहेको र त्यहीबाट प्रभावित भएर तिब्बतीय ब्लड लेखिएको ज्याकेट लगाएको उनको भनाइ ।

अभद्रमा व्यवहारमा अनुसन्धान गर्ने तयारी

उनीबाट बरामद पेस्तोल नक्कली भएको र अन्य आगजनी, तोडफोड तथा लुटपाटको घटनामा जोडिएको कुनै प्रमाण अहिलेसम्म फेला नपरेकाले प्रहरीले उनीमाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

पेस्तोल र तिब्बतीयन ओरिजिनल ब्लडकै बारेमा थप केही अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनीमाथि अभद्रको कसुरमा म्याद लिन लागेको हो ।

भोलि कुनै कसुरमा प्रमाण देखिएको अवस्थामा कन्भर्ट गरेर मुद्दा चलाउने गरी अभद्रमा अनुसन्धान अघि बढाइने प्रहरी स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *