सर्लाही, २७ असाेज । मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन् ।

उनी लोसपाबाट मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन् ।

यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ । यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् ।

जेन–जीको आन्दोलन चर्किंदै जाँदा २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा नदिने बताए ।

त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनको आफ्नै दलले पनि पटकपटक आग्रह गरेको थियो । तर, उनले अस्वीकार गर्दै सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

अहिलेसम्मको स्थितिमा उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन मात्र कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *