सर्लाही, २७ असाेज । इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका छन् ।
आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमा जानकारी दिए ।
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो । हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ ।
राजदुत पण्डितले इजरायलबाट टेलिफोनमा भने–विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो ।इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवको बारेमा पनि यकिन छैन ।
