सर्लाही, २७ असोज ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गरेका छन् ।

जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उनले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सक्ने विश्वास दिलाउन नसकेको बताए ।

निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको उनको जिकिर छ ।

‘चुनाव गर्ने दायित्व यो सरकारको छ, एक महिनासम्म कुनै काम गरेको छैन,’ यादवले भने, ‘अन्तरिम सरकारले अहिलेसम्म हामीसँग निर्वाचन केन्द्रित छलफल गरेको छैन, के बिना राजनीतिक दलको निर्वाचन सम्भव छ ? राजनीतिक दलले भाग लिएनन् भने चुनाव सम्भव छैन ।

यदी चुनाव भएपछि राजा ज्ञानेन्द्रले गर्नुभएको भन्दा ठूलो चुनाव हुँदैन। अहिलेसम्म चुनावको वातावरण छैन ।’

अध्यक्ष यादवले आफ्नो सम्बोधनको क्रममा संघीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराए । उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध लड्न जसपा, नेपाल सदैव खडा हुने बताए ।

संघीयता खारेजीको माग उठाए आफूहरु मौन नबस्ने चेतावनी दिँदै उनले संघीय गणतन्त्रात्मक व्यवस्था कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताए ।

अध्यक्ष यादवले जेनजी आन्दोलन बहुदलीय व्यवस्था स्थापनापछि ३५-३६ वर्षमा कांग्रेस र कम्युनिष्टहरुको शासनबाट केही उपलब्धी हुन नसक्दाको परिणाम रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *