सर्लाही, २८ असाेज । मधेश प्रदेश सरकारका भौतीकमन्त्री सरोज कुमार यादवले एक दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एक फोटो शेयर गरे ।
कालो टिसर्टमा टीओबी लेखिएको कालो रंगको टिसर्ट लगाएका एक युवकले हात पछाडि लगेर पेस्तोल बोकिरहेका छन् । फोटो शेयर गर्दे उनले भने, ‘पेस्तोल बोक्ने टीओबीलाई तुरुन्तै पक्राउ गरियोस् सुशीला कार्की आमा ।’
मन्त्री यादवजस्तै उक्त फोटो र भिडियो शेयर गर्ने धेरै छन् । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल नै छ टीओबी लेखेको टिसर्ट योसँगै टीओबी ग्रुपको खोजी गर्न थालिएको छ । जेनजी आन्दोलनका क्रममा कुनै आपराधिक समूहबाट परिचालित समूह हो कि भन्ने धेरैको आशंका छ ।
सामाजिक सञ्जालमा चर्चामा भएको भिडियोमा बिजुली बजारको पुलमा टीओबी लेखिएको कालो ड्रेस लगाएका एक युवकले चुरोट तान्दै कम्मरको पछाडिको भागमा पेस्तोल भिरेको देखिन्छ । उनलाई मोटरसाइकमै बसेका अर्का व्यक्तिले उक्त पेस्तोल दिन्छन् ।
यो भिडियो भाइरल भएपछि प्रहरीले निगरानी गरेको थियो । पेस्तोल भिर्ने व्यक्तिको खोजी भइरहेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार टीओबी लेखेको टिसर्ट लगाएर पेस्तोल बोक्ने व्यक्ति ३० वर्षीय तेन्जीङ दावा हुन् । उनलाई आइतबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ । उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ।
प्रहरी अनुसन्धानका क्रममा भाइरल भिडियो आन्दोलनको क्रममा खिचिएको नभई केही समय अगाडिको हो । उनले तेन्जेन एडि नामक टिकटक आइडीबाट उक्त भिडियो एक वर्ष अगाडि नै पोष्ट गरेका थिए ।
दावाले बोकेको पेस्तोल पनि नक्कली रहेको हुनसक्ने प्रहरी अनुमान छ । प्रहरीसँगको बयानका क्रममा तेन्जेन दावाले आफू फ्री तिब्बत समर्थक मात्रै भएको बताएका छन् ।
टीओबी भन्नाले ‘तिब्बतीयन ओरिजिनल ब्लड’ नामक समूह नै सक्रिय छ । प्रहरीका अनुसार पक्राउ परेका दावा टीओबीका लिडर भएको प्रमाणहरू भेटिएका छन् । उनीसँगै केही युवाहरू मिलेर नेपालमा टीओबी मुभमेन्ट चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
ठमेलमा ट्याटु आर्टिष्टको काम गर्ने दावा काठमाडौंमा एक्लै बस्छन् । साथीहरूसँग मिलेर विभिन्न ठाउँमा घुम्ने उनले हातभर ट्याटु हानेका छन् । ट्याटु सिक्ने क्रममा हातमा ट्याटु हानेको उनले बताएका छन् ।
उनीसँगै एक पेस्तोल पनि बरामद भएको छ । भिडियोमा देखिएको पेस्तोल यही भएको उनले प्रहरीलाई बताएका छन् । तेन्जेनले सामाजिक सञ्जालमा ध्यानाकर्षण गर्न नक्कली पेस्तोल देखाउँदै भिडियो बनाएको प्रहरीसँगको बयानमा बताएका छन् ।
काठमाडौं प्रहरी प्रमुख थापा भन्छन्, ‘पक्राउ परेका दावाको साथबाट बरामद भएको पेस्तोल परीक्षणका लागि पठाइएको छ । यद्यपि दावाले उक्त पेस्तोल नक्कली भएको बताएका छन् ।
