सर्लाही, २७ असोज । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट बिदा लिने दोहोर्याएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन् ।
म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।
आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने।
१५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे। जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन् ।
१४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।
