सर्लाही, २७ असोज । वेस्ट इन्डिजका पूर्वदिग्गज खेलाडी शिवनारायण चन्द्रपाउल जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक बनेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली जनकपुरले उपाधि रक्षा गर्न हेतु वेस्ट इन्डिजका पूर्वखेलाडी चन्द्रपाउललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । गत वर्ष पुबुदु दासानायकेको प्रशिक्षणमा जनकपुरले पहिलो संस्करणको एनपिएल उपाधि जितेको थियो ।

जनकपुरले सोमबार चन्द्रपाउललाई मुख्य प्रशिक्षकका रूपमा भिœयाएको जनाएको छ । उनीसँग क्यारेबियन टोली जमैका तलाहवाज र अमेरिकी महिला टोलीलाई प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । सन् २००० को दशकमा चन्दपाउल वेस्ट इन्डिजकै प्रमुख ब्याट्सम्यान थिए । उनले समग्रमा २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । साथै, उनले पहिलो श्रेणीमा २७ हजारभन्दा बढी रन बटुलेका छन् । 

‘जनकपुरले मुख्य प्रशिक्षकका रूपमा चन्द्रपाउलसँग दीर्घकालीन सम्झौता गरेको छ । विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेको लिगमध्ये एकमा आफ्नो बिरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ,’ जनकपुरका निर्देशक निरोज खतिवडाले भने, ‘क्रिकेटकै एक महान् दिग्गजका रूपमा उहाँले नयाँ विचार, रणनीति र दृष्टिकोणका साथ जनकपुरलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ ।’

दोस्रो एनपिएल १ देखि २७ मंसिरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । प्रतियोगिताका लागि आठै फ्रेन्चाइज टोलीले मार्कीसहित अक्सनबाट नेपाली खेलाडी अनुबन्ध गरिसकेका छन् । आठ टोलीले विदेशी खेलाडीको कोटा पूरा गर्न बाँकी छ । पहिलो संस्करणको फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । जनकपुरले पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पाँच विकेटले हराएको थियो । 

४१ अन्तर्राष्ट्रिय शतक
बायाँहाते ब्याट्सम्यान चन्द्रपाउलले सन् १९९४ मा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । उनले सन् २०१५ मा अन्तिमपटक इंग्ल्यान्डविरुद्ध नै टेस्ट खेले । 

यसैगरी सन् १९९४ मा भारतविरुद्ध एकदिवसीय खेल खेलेका उनले २०११ मा पाकिस्तानविरुद्ध अन्तिमपटक प्रतिस्पर्धा गरे । दुई दशकको अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा उनले समग्रमा ४१ शतकीय इनिङ्स खेलेका छन् । 

मध्यक्रममा आक्रामक रूपमा ब्याटिङ गर्न रुचाउने चन्द्रपाउलले १६४ टेस्टमा ११ हजार ८६७ रन बटुलेका छन् । यस फर्म्याटमा उनले ३० शतक तथा ६६ अर्धशतकीय इनिङ्स खेले । उनले २६८ एकदिवसीय खेलमा आठ हजार ७७८ रन बटुले । उनले ५० ओभरमा ११ शतक तथा ५९ अर्धशतक बनाए । वेस्ट इन्डिजबाट उनले २२ अन्तर्राष्ट्रिय टी–२० खेलमा ३४३ रन जोडे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *