सर्लाही, २७ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ ।
गत असारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिसको व्यवस्था गर्न गृह मन्त्रालयले परिपत्र गरे पनि कार्तिक १ गते बाट उक्त सेवा सुरु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलले सेवाग्राहीले वडाबाट नागरिकताको सिफारिस गरेर ल्याउने र जिल्लामा आउँदा कागजपत्र नपुगेर दुःख पाउने गरेकाले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस सुरु गरेको बताउनुभयो ।
उहाँले सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्याको समाधान हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाउन लागिएको छ ।
वडा कार्यालयले नागरिकताको सिफारिस गरेको खण्डमा बिग्रेको अवस्थामा समेत जिल्ला प्रशासन कार्यालयले सच्चाएर नागरिकता प्रदान गर्न सक्ने पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, सेवाग्राहीले नागरिकताका लागि वडामा अनलाइन फारम भर्न बित्तिकै जिल्ला प्रशासनमा सबै प्रमाण पुग्ने र सेवाग्राही जिल्ला प्रशासन पुग्ने बित्तिकै नागरिकता प्राप्त हुनेछ ।
पोखरेलले अनलाइनमार्फत नागरिकताको सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो हुने बताउनुभयो ।
उहाँले जिल्लाका २० स्थानीय तहका २०० वडा बाट कार्तिक सम्म सेवा सुचारु गरिसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो अनलाइनबाट नागरिकताको सिफारिसको व्यवस्था मिलाउनका लागी २० वटै स्थानीय तहका आईटी अफिसर, वडामा कार्यरत सचिव र कम्प्यूटर अपरेटरहरुलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजना तालिम प्रदान गरिएको छ ।
अनलाइन मार्फत नागरिकता सिफारिस सम्बन्धी तालिममा आईटी अफिसर ज्यूहरुलाई सबै वडामा इन्टरनेटको व्यवस्थाका तथा वडामा आवश्यक पर्ने उपकरणको समेत व्यवस्था गर्न जानकारी गराएको हो ।
कार्तिक १ देखि देशभरका स्थानीय तहमा नागरिकता सिफारिस कार्य अब सूचना प्रविधि प्रणालीमार्फत हुनेछ ।

