सर्लाही, २७ असोज । किसान सूचीकरण कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो ।

देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।

किसानलाई सूचीकृत गरी उनीहरुको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने केन्द्रका अधिकृत सञ्जिव पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिनेछ । विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुनेछ ।

२०७८ सालको जनगणनाअनुसार करिब ४१ लाख किसानको गणना गरिएकाले केन्द्रले उनीहरुलाई पनि समेट्ने योजना बनाएको छ ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत पण्डितका अनुसार यो कार्यक्रममा देशभर पालिकामार्फत किसानका सूचना सङ्कलन गरिएको हो ।

किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले २०७७ साल फागुनमा मन्त्रिस्तरीय बैठकबाट शुरू भएको यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आग्रह गर्नुभयो ।

किसानको पहिचान नभएसम्म उहाँहरूले राज्यबाट दिने अनुदान र सेवासुविधा पाउन नसक्ने भएकाले आफ्नो नाम दर्ता गराउन किसानलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *