सर्लाही, २८ असाेज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध आगजनी र तोडफोडमा संलग्न भएको भन्दै सर्लाही प्रहरीमा समेत जाहेरी परेको छ ।

एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्घ नेपालले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा साेमबार जाहेरी दिएका हुन् । अनेरास्ववियु र युवा सङ्घ नेपालका नेताहरुले जिल्ला प्रहरी कार्यालय मलंगवामा पुगेर प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई जाहेरी निवेदन हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय सम्पदा, भवन, अन्य संरचना तथा सरकारी कार्यालयका सामान तथा कागजात तथा सरसामान लुटपाट गरी चलअचल सम्पति नष्ट गरेको र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनी विभिन्न मानिसलाई उक्साएर कानुन विपरीत कार्य गरेको जाहेरीमा उल्लेख छ ।

बालेन्द्र र सुदनविरुद्ध यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँसहित देशका विभिन्न प्रहरी कार्यालयमा पनि जाहेरी परेको थियो ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले जाहेरी प्राप्त भएको र केन्द्रीय प्रहरी कार्यालयको निर्देशन अनुसार जाहेरीउपर कारवाही अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *