सर्लाही, २९ असाेज । जेनजीका नाममा विभिन्न कार्यालय जाँदै कर्मचारी र पदाधिकारीलाई थर्काउने व्यक्तिमाथी सरकारले निगरानी गरिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । 

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले जेनजीका नाममा कार्यालय गएर जसले थर्काइरहेका छन् तीनीहरुलाई सरकारले नियन्त्रणमा लिने बताए । 

‘जेनजीको बिद्रोह सुशासनका लागि हो । जेनजीको नाममा कसैले गर्छ भने त्यो गलत र सुशासनविरोधी क्रियाकलाप हो । त्यसलाई सरकारले निगरानी राख्छ, समय परिस्थितिमा प्रहरीले काबुभित्र राख्छ’, अर्यालले भने । 

अधिकार नभएको व्यक्ति कार्यालय/कार्यालय गएर धम्क्याउन नमिल्ने र त्यो छुट् नहुने उनले बताए । सुशासन भनेको विधीको साशनबाट सुरु हुने भन्दै मन्त्री अर्यालले सबैलाई कानुन बमोजिम चल्न पनि सुझाव दिए । 

यसअघि जेनजीका नाममा केही व्यक्तिहरु अख्तियारसहित संवैधानिक आयोगहरु, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका कार्यालयमा गएर कर्मचारीलाई हप्काउन, राजीनामा दिन दबाब दिने जस्ता गतिविधि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *