सर्लाही, २९ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भएको बताएका छन् ।

ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको दशौं बैठकमा ‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव पेश गर्दै ओलीले भदौ २४ मा मुलुकलाई ध्वस्त पार्न नियोजित षड्यन्त्र गरिएको दावी गरेका हुन् ।

‘भदौ २४ गते देशलाई विध्वंशको विनाशलिलामा डुबाइयो। १६ सयभन्दा बढी संरचनाहरू आगजनी, तोडफोड र लुटपाट गरेर ध्वस्त पारियो ।

शान्ति सुरक्षाको क्रममा खटिएका प्रहरीको क्रुरता र बर्बरतापूर्वक हत्या गरियो । १२ सयभन्दा बढी हतियार, झन्डै एक लाख थान गोलीगठ्ठालगायत लुटियो ।

जेल तोडेर १४ हजार भन्दा बढी कैदीबन्दीहरूलाई भगाइयो,’ आन्दोलनकै कारण सरकार छाड्न बाध्य भएका ओलीको विशेष प्रस्तावमा भनिएको छ, ‘यसरी केही घण्टाको अन्तरालमा देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भयो । ’

उनले प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भएका घटनाहरू सरकार परिवर्तनका लागि मात्र नभई मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, संस्कृति र राष्ट्रिय एकतालाई ध्वस्त पार्ने सुनियोजित षड्यन्त्रका अंग भएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *