सर्लाही, २९ असाेज । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन् ।

नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको चर्चा गरे ।

‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु,’ ओलीले भने, ‘पहिलेदेखि नै थाहा थियो । चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन ?

उनीहरूको प्रयास निरन्तर भइरहेको थियो। सधैं रोक्ने गरिएको थियो। यसपटक रोक्न सकिएन । थाहा नभएको होइन ।’

जेनजीले गरेको आन्दोलनको दोस्रो दिन २४ भदौमा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

उनले जेन–जीको माग र आन्दोलन विध्वंश र त्यसपति बनाइएको सरकारसँग नजोडिने भन्दै उनले प्रतिगामीहरूले षड्यन्त्र गरेको चर्चा गरे ।

‘जेन–जीकै अगुवाहरु अहिले पनि भनिरहेका छन्, संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन् । आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ,’ ओलीले भने, ‘भएको पनि यही हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *