सर्लाही, २९ असाेज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोली ओमानसँग खेल्दैछ ।
छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ ।
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ । आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा पुग्नेछ ।
यद्यपी आज कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ ।
कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो । अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ । यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन् ।
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन् । यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ । किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ ।
