सर्लाही, २९ असाेज । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि दोस्रो दावी परेको छ ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले एमाले, कांग्रेस र जनमत पार्टीको संसदीय दलको नेताको हस्ताक्षर सहित कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न गरिएको दावी पेश भएको बताए । एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै दावी पेश गरिएको हो ।
आज बिहान मात्र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा सरकार गठनका लागि जनमत पार्टी सहित ६ दलले ५७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै दावी पेश गरिएको थियो । बिहान पेश गरिएको दावीमा जनता समाजवादी पार्टी, नेपाल, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको थियो ।
यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकार गठनका लागि आह्वान नगरेको अवस्थामा असोज २२ गते एमाले, कांग्रेस र जनमतले दावी पेश गरेको थियो। यद्यपी उक्त प्रस्ताव दर्ता भएको थिएन् । तर मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान हुँदा जनमत एमाले–कांग्रेससँग बाहिरिएर ती दल बाहेकका दलसँग मिलेर नयाँ सरकार गठनका लागि आज देवी पेश गरेका थिए ।
यता जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले एमाले–कांग्रेसले पेश गरेको पत्र गलत भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो दल अहिलेपनि सोनलको पक्षमा रहेको बताए। मधेस प्रदेशसभामा १०७ सदस्य रहेकोमा हाल २ जना निलम्बनमा परेपछि १०५ जना छन ।
