सर्लाही, २९ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा पक्षले कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएको छ।

राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समितिमा उपस्थित नहुने जानकारी गराएका हुन् । अध्यक्ष लिङ्देनले आजका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

पार्टीभित्रको सद्भाव र सहकार्य अगाडि बढाउन ४ बुँदे प्रस्ताव पनि पत्रमा लेखिएको छ । विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने, विधानविपरित भएका निष्कासन र कारबाही सम्बन्धी निर्णयहरू फिर्ता गर्ने, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने र प्रभावकारी पार्टी सञ्चालनका निम्ति दुई पूर्वअध्यक्षहरू सहितको विवाद समाधान समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

केन्द्रीय समितिमा सल्लाह र जानकारी समेत नदिई अध्यक्षबाट केन्द्रीय सदस्य थप्दै जाँदा जाने कार्य भएको पत्रमा लेखिएको छ। दुई महामन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘४३ विभागमध्ये अधिकांश निस्क्रिय राख्दा पनि आन्तरिक एकतामा असर नपुगोस् भनेर अध्यक्षको निर्णयबारे सार्वजनिक तहमा बोलेनौं ।’

विधिको सम्मान गर्न सचेत गराउने र हर प्रकारको सहयोग गर्न तयार रहँदा समेत पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको पत्रमा उल्लेख छ ।

‘पार्टी स्थापनाकालदेखि काम गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकमा सुचना दिएर विधानको प्रावधान खुल्लमखुल्ला उल्लंघन गर्दै बेइज्जतीपूर्ण तरिकाले निष्कासन गरियो । अब त हुँदाहुँदा पार्टीमा विधानविपरित कारबाही र निष्कासनका लामो सूची नै बनेको छ,’ पत्रमा भनिएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै महामन्त्री राणाले अध्यक्ष लिङ्देनले एकतर्फी व्यवहार गरेको, पार्टीका नेता कार्यकर्तालाई कारबाहीको शृङ्खला जारी राखेको र महाधिवेशनको वातावरण नबनाएको हुँदा बैठकमा उपस्थित नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *