सर्लाही, ३० असाेज । नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिता खेलिरहेको छ । प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेमा प्रत्येक खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताए ।

नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा छ । अब शुक्रबार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।

घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ ।

नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।

विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् ।

यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।

छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ ।

दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान)ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *