सर्लाही, ३० असाेज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अबदेखि रुसबाट तेल नकिन्न सहमत भएको दाबी गरेपछि भारतीय कंग्रेस नेता राहुल गान्धीले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध टिप्पणी गरेका छन् ।
ट्रम्पले बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले अब रुसबाट तेल नकिन्ने बताएको दाबी गरेका थिए ।
उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन्। हाम्रो धेरै राम्रो सम्बन्ध छ । भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ, तर आज उहाँ (प्रधानमन्त्री मोदी) ले मलाई अब रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो। अब हामीले चीनलाई पनि त्यसै गर्न लगाउनु पर्नेछ ।’
यसपछि राहुल गान्धीले सामाजिक सञ्जालमार्फत मोदी ट्रम्पसँग डराउने टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन् । उनले ट्रम्पलाई निर्णय लिन र भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने घोषणा गर्न दिन्छन्। बारम्बार अस्वीकार गर्दा पनि उनले ट्रम्पलाई बधाई सन्देश पठाउन जारी राख्छन् ।’
