सर्लाही, ३० असाेज । सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुरबाट प्रहरीले यात्रुबाहक बसमा यात्रा गरिरहेका एक व्यक्तिलाई प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो पदार्थसहित पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा मिर्चैया र बन्दीपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट विरगंजतर्फ जाँदै गरेको यात्रुबाहक बसमा यात्रा गरिरहेका यात्रुलाई खैरो हिरोइन जस्तो पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ५ का करिब ३४ वर्षीय रामकुमार चौधरी रहेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
प्रहरीलाई प्राप्त सूचना अनुसार बस रोकेर चेकजाँच गर्दा चौधरीको साथबाट प्लाष्टिक समेत ६.११० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएपछि तत्काल पक्राउ गरी मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीले बसको नम्बर भने खुलाएको छैन ।
करिब तीन क्वीण्टल बढी गाँजा बरामद
प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट दुई क्वीण्टल ८४ किलो गाँजा र २१.११० ग्राम खैरो हिरोइन जस्तो पदार्थसहित एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पाँच दिनअघि गोलबजार ६ बाट गोलबजार र धनगढीमाईका दुई युवकलाई प्लाष्टिकबाहेक १५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।
नेपालबाट गाँजा बोकेर भारततर्फ जाँदै गरेका बिहार राज्यको मधुबनी जिल्ला जयनगर थाना बेलही ग्राम पंचायत ६ बेला घर भएका भारतीय नागरिक करिब ५५ वर्षीय श्रीचन मण्डललाई करिब ६४.९ किलो गाँजासहित पक्राउ गरेको थियो ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका २ स्थित बलान खोला किनारको काँसघारीमा लुकाएर राखेको अवस्थामा २४ असोजको बिहान दुई क्वीण्टल १९ किलो प्रतिबन्धित गाँजा बरामद गरेको थियो ।
