सर्लाही, ३० असाेज । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज (असोज ३०) आयोजित समारोहमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीका रूपमा शपथ खाएका हुन् ।
यसअघि आजै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र साेनलले मुख्यमन्त्री पदको शपथ खाएका थिए ।
उनी पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
लोसपा नेपालको नेतृत्वमा गठन भएको नयाँ प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी छन् ।
