सर्लाही, ३० असाेज । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनको प्रयोजनका लागि आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न बिहान साढे ११ बजे कार्यालयमा बोलाइएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्न निर्देशन दिएपछि आयोगले सक्रियता बढाएको हो ।

दलहरुसँग राष्ट्रपतिले पनि एक चरण छलफल गरेका छन् । यद्यपी प्रधानमन्त्री सुशिला कार्की एवम् सरकारको तर्फबाट भने हालसम्म राजनीतिक दलसँग छलफल अगाडि बढ्न सकेको छैन ।

सरकारले निर्वाचन घोषणा गरेपनि नेकपा एमाले र नेपाली कांग्रेसले संसद्को पुनः स्थापना गर्नुपर्ने माग गरेका छन् । नेकपा एमालेले सचिवालय बैठकबाटै निर्णय गर्दै सरकारले निर्वाचन गर्ने वातावरण तयार नगरेकाले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएको छ यसैगरी नेपाली कांग्रेस केन्द्रीय समितिबाट पार्टीको धारणा स्पष्ट पार्ने जनाएको छ ।

कांग्रेसले निर्वाचन र संसद पुनर्स्थापना दुवै विकल्प खुला राख्ने जनाएको छ । राप्रपाले भने देश र जनताको हितमा निर्णायक कदम चाल्न पहलकदमी नभएसम्म र संविधान संशोधन गर्ने प्रतिबद्धता नभएसम्म संसद पुन:स्थापनाको कदम पूर्ण रूपमा अर्थहीन हुने ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *