सर्लाही, ३० असाेज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
बिहीबार बिहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथ ग्रहण समारोह तय भएकाे छ ।
लोसपाका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
जनमत विभाजन भएको अवस्थामा जनमतका सबै सांसदको हस्ताक्षर बुझाएर उनलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र एमालेले भने विरोध गरेका छन्।
हिजो मुख्यमन्त्री नियुक्ति हुँदै गर्दा उनीहरूले नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले साेनललाई मुख्यमन्त्री नियुक्त भएको पत्र दिएकी थिइन् ।
जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि सोनल मुख्यमन्त्री बनेका हुन् ।
एमाले-कांग्रेसले भने कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । तर, उनीहरूले बहुमत जुटाउन नसकेपछि इतर गठबन्धनले सरकार गठन गरेको हो।
कांग्रेस-एमालेले प्रदेश प्रमुखसमक्ष जनमत पार्टी विभाजन भइसकेकाले सोनलको नियुक्तिको लागि बुझाइएको जनमतकाे हस्ताक्षर बैध नहुने दाबी गरेका छन् ।
जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए ।
निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले नयाँ दल रोजेका हुन् ।
जनमतका दुई सांसदले नयाँ दल रोजेपछि सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ ।
तर, जनमत पार्टीबाट विभाजित भएर बनेको जनस्वराज पार्टी रोजेकाका निवर्तमान मुख्यमन्त्री सिंहले आफूहरूको समर्थन पनि जितेन्द्र सोनललाई नै रहने बताएका छन् ।
‘हिजो म र त्रिभुवन साहजीले जनस्वराज पार्टी रोजेका छौँ,’ सिंहले भने, ‘तर, नयाँ दल रोजेका भए पनि हाम्रो समर्थन जितेन्द्र सोनललाई नै हरनेछ। यस विषयमा हामी आज बिहान पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने छौँ ।’
