राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रम कार्की काठमाडौँ, ९ असोजः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा बिहीबार सिंहदरबारमा पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

सर्लाही, ०२ कार्त्तिक । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ  ।

उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।” 

प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीसमेतको उपस्थितिमा चार वटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा शनिबार शीतल निवासमा गम्भीर छलफल गरेको जानकारी दिनुभएको छ । उहाँले चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको बताउनुभएको छ । 

उहाँले भन्नुभएको छ, “सबै सुरक्षा प्रमुखले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको छ । चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलसँग संवादको सुरुवात भएको छ ।”  

Leave a Reply

Your email address will not be published. Required fields are marked *