सर्लाही, ०४ कार्त्तिक । बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।
नेपालमा चरम लोडसेडिङ भएका वेला प्राधिकरणले ६५ प्रतिशतभन्दा बढी शुल्कमा साउन ०७२ देखि उद्योगहरूलाई डेडिकेटड फिडर र ट्रंक लाइनबापत न्यूनतम २० घण्टा विद्युत् उपलब्ध गराएको थियो । तर, अहिले त्यसबापतको महसुल शुल्क भने विवादमा छ ।
प्राधिकरणले यसअघि पनि यस्तो शुल्क नतिर्ने उद्योगको लाइन काटेको थियो । तर, राजनीतिक तथा सरकारकै दबाबमा तत्कालनै सम्बन्धित उद्योगहरूमा लाइन जडान गरिएको थियो ।
उल्टै, प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको थियो । तर, अहिले भने सरकारकै सहयोगमा प्राधिकरणले लाइन काटेको छ ।
