सर्लाही, ०६ कार्त्तिक । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु, तनहुँले सिँचाइ र पहिरो नियन्त्रणका लागि रु १५ करोडभन्दा बढीको बजेटका विभिन्न योजना सञ्चालन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कुल रु १५ करोड ७५ लाखका योजना कार्यान्वयनमा छन् ।
आयोजना प्रमुख सुपिन्द्र खत्रीका अनुसार पाँच वटा ठूला आयोजना प्रत्येकमा रु. तीन-तीन करोड बजेट विनियोजन गरिएको छ । ती योजनामा देवघाट गाउँपालिका-५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइ आयोजना, व्यास नगरपालिका-६ शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजना, भानु नगरपालिका-४ भानु चुँदी वराह सिँचाइ आयोजना र शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रम समावेश छन् ।
त्यसैगरी, देवघाट गाउँपालिका-५ गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि पनि रु तीन करोड बजेट विनियोजन गरिएको छ। साथै, मस्र्याङ्दी र दरौदी नदी नियन्त्रणका लागि थप रु ७५ लाख विनियोजन गरिएको खत्रीले दिए ।
आयोजनाले हाल तनहुँसँगै लमजुङ, मनाङ र गोरखा जिल्लामा पनि काम गरिरहेको छ । यस कार्यालयको सुरुवात आर्थिक वर्ष २०७५/७६ मा ‘पालुङटार-कुण्डुटार सिँचाइ आयोजना’का रूपमा गरिएको थियो । पछि यसको कार्यक्षेत्र विस्तार गरी आर्थिक वर्ष २०८१/८२ मा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय, गोरखा नाम दिइयो । चालु आर्थिक वर्ष २०८२/८३ बाट कार्यालय स्थानान्तरण भई अहिलेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भानु तनहुँ नाम दिइएको हो ।
आयोजनाले चार जिल्लामा रहेका विभिन्न सिँचाइ संरचना निर्माणका साथै दरौदी, दोर्दी र मस्र्याङ्दी नदी क्षेत्रमा डुबान र कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्ध, स्पर र रिभेटमेन्ट निर्माण, जग्गा उकास, र नदी नियन्त्रण कार्य गर्दै आएको छ । साथै, सिँचाइ तथा नदी व्यवस्थापनसम्बन्धी अध्ययन र सर्भेक्षण कार्य पनि नियमित रूपमा सञ्चालन भइरहेको प्रमुख खत्रीले बताए ।-रासस
