सर्लाही, १७ कार्त्तिक । रामेछापको राकाथुम माविकी लेखापाल आशा लामा घरबाट बेपत्ता भएकी छन् ।
खाँडादेवी गाउँपालिका-१ पाङखर की ३६ वर्षीया लामा आफ्नै घरबाट बेपत्ता भएकी हुन् । उनी राकाथुम माविको लेखापाल थिइन् । आइतबार बिहान करिब ४ बजेदेखि विद्यालय र घर आफन्त कसैको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।
उनको खोजी गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । कोही कसैले देखे चिने भेटे आफन्त, समुदाय र नजिकको प्रहरीमा जानकारी र सम्पर्क गरिदिन लामाको ससुरा वीर बहादुर लामाले आग्रह गरेका छन् ।
उनी कुनै स्क्यामरमा परेको आशंका रहेकोले मानसिक तनावका कारण कहीँ कतै गई सम्पर्कबाट टाढा रहेको हुनसक्ने परिवारले आशंका गरेको छ । उनको मोबाइल स्कुटर सबै घरमै रहेको छ । उनको २ छोरी समेत रहेका छन् ।
परिवारले बुहारी बेपत्ता भएपछि प्रहरी चौकी लुभुघाटमा खबर गरेका थिए । प्रहरी उनको घर पुगेर खानतलासी गर्दा ६ पेज लामो नोट लेखेर छाडेको पाइएको छ ।
उक्त चिठी प्रहरीले हेर्दा उनले आफू ७ लाख ६५ हजार भन्दा बढी रकम ठगीमा परेको उल्लेख गरेको प्रहरी चौकी लुभुघाटका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामाले लाखौँ पैसा गुमाएपछि आत्महत्या गर्ने संकेत गरेकी छन् । उनले मर्छु कि त टाढा गएर बस्छु भनेर लेखेको पाइएको प्रहरीको भनाई छ ।
प्रहरीले उक्त नोट भेटेपछि स्थानीयको सहयोगमा जंगल खोला नालामा गएर खोजी कार्य जारी राखेको हालसम्म अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ ।
उनको श्रीमान् साउदी अरबमा छन् । उनी यहाँ सासुससुरासँग बस्दै आइरहेकी थिइन् ।
