सर्लाही, १७ कार्त्तिक । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ  एजेन्सीलाई अध्यागमन विभागले ४० हजार रुपैयाँ जरिवाना तिराएको छ । मल्टि एड्भेञ्चर प्रालिलाई विभागले कारबाही गर्दै जरिवाना तिराएको हो । 

सो ट्रेकिङ  एजेन्सीले एक जर्मन पर्यटकलाई  ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पत्रयात्रामा लिएर गएको थियो । विभागबाट अनुमतिपत्र दिनुअघि नै ती पर्यटक कञ्चनजंगा पुगेका थिए ।

अनुमतिपत्र नभएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो। छानविनको क्रममा ट्रेकिङ कम्पनीको बदमासी खुलेको हो ।

अध्यागमन नियमावली, २०५१ मा निषेधित क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत् अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ ।

उक्त कम्पनीले २५ अक्टोबरदेखि १० दिनको अनुमति लिएको तर सो मितिको एक दिन अगाडि नै उक्त टोली कञ्चनजंघा क्षेत्रमा पुगेको विभागका निर्देशक टीकाराम ढकालले बताए ।  

त्यसभन्दा अगाडि नै विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिंग गाइड दाईला शेर्पा पदयात्रामा गएका थिए । शेर्पालाई कारवाही गर्न विभागले पर्यटन बोर्डमा समेत लेखी पठाएको छ । जर्मन पर्यटकलाई भने जरिवानासहित निष्कासनको निर्णय भएको छ ।

 नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेत लगायतका  केही क्षेत्रलाई सुरक्षा र सीमा संवेदनशीलताको आधारमा नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ ।

जहाँ पदयात्रामा जान विदेशी नागरिकले अनिवार्य रुपमा अनुमति लिनुपर्ने हुन्छ। विभागले अनलाइनबाटै यस्तो अनुमति दिने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *