सर्लाही, १७ कार्त्तिक । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ गते शुक्रवार र २२ गते शनिवार ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।
ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न सूचना प्रविधिकाे सफ्टवेयर, उत्पादन र सेवाहरू प्रदर्शनीमा रहने छन् ।
स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताउनुभयो ।
‘एक्सपोले नेपालको सूचना प्रविधिका कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ हिजो काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।’
यस्तै नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एस्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताउनुभयो । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ ।
परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ । एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ ।
नास–आईटी एक्स्पो केवल एक प्रदर्शनी नभएर नेपालका सूचना प्रविधिकाे प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताउनुभयो ।
एक्सपोमा ३० बढी सूचना प्रविधिकाे सेवा र उत्पादनहरुकाे प्रदर्शनी रहने छ । एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्ने छन् ।
एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउने छन् । एक्सपो अवलोकन निःशुल्क गर्न सकिने छ ।
यसका लागि अनलाइन टिकट https://eventsmo.com/en/event/nas-it-expo-2025 बाट लिन सकिने छ ।
