सर्लाही, १७ कार्त्तिक । सरकारसँगको वार्ता असफल भएसँगै अहिले देशभर नर्सिङ आन्दोलन जारी छ । आन्दोलनसँगै सबै निजी अस्पतालमा काम गर्ने कर्मचारी र नर्सिङ समूहको श्रमशोषण र अपमानको तलाउ विस्फोट भएर छताछुल्ल भएको छ ।

यो आन्दोलनले देशको बौद्धिक समूह, सरकार र सर्वसाधारणको ध्यान आकर्षित गर्दै नर्सिङका मागहरू जायज छन् र सम्बोधन नगरी सुखै छैन भन्ने ठाउँमा पुर्‍याएको छ ।

यो आन्दोलनले आम स्वास्थ्यकर्मी र अन्य क्षेत्रका श्रमिक कामदारलाई आफ्नो लागि आफैं लड्नुपर्छ भन्ने सन्देश दिएको छ ।

नेपालमा निजी अस्पतालको सुरुआत पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको सुरुआत २०४६ पछि भएको हो। यसअघि सरकारी अस्पतालले आफूसक्दो सेवा दिइरहेका थिए तर धेरै नेपालीले उपचार अभावमा ज्यान गुमाउन बाध्य थिए ।

निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि धेरै रोजगारी सिर्जना भए। तर अस्पताललाई आवश्यक पर्ने जनशक्ति पर्याप्त थिएन।

निजी अस्पतालमा काम गर्ने कर्मचारीको तलब २०५० देखि २०६० सालको बीचमा सरकारी निजामती कर्मचारीहरूको भन्दा राम्रो थियो ।

निजी अस्पतालको सेवा–सुविधा र अत्याधुनिक उपचार पद्धतिको कारण आम जनताले निजी अस्पतालमा काम गर्ने र उपचार सेवा लिने प्रचलन बढ्दै गयो भने स्वास्थ्य जनशक्ति उत्पादन पनि उल्लेख्य वृद्धि हुन थाल्यो ।

फलस्वरुप अहिले करिब ४०० निजी स्वास्थ्य संस्था, ३५० भन्दा बढी स्वास्थ्य शिक्षाका संस्थाहरू सञ्चालित छन् भने करिब १ लाखले रोजगारी पाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *