सर्लाही, १७ कार्त्तिक । २३ र २४ भदौ २३ र २४ को जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले आज सहिद घोषणाको तयारी गरेको छ ।

आज ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा सहिद घोषणा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीले बताए । 

गृह मन्त्रालयले छानबिन गरी ४५ जनालाई सहिद घोषणा गर्न सिफारिस गरिसकेको छ । सो आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन ।  

आन्दोलनमा मृत्यु हुनेमध्ये १० जना जेलबाट भाग्न खोज्ने कैदीबन्दी थिए। उनीहरूको नाम सहिदको सूचीमा सिफारिस छैन। आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ । आन्दोलनमा तीन प्रहरीले पनि ज्यान गुमाएका थिए ।  

यसअघि नै सरकारले सहिद घोषणा गर्ने नीतिगत निर्णय गरे पनि औपचारिक रूपमा निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न लागिएको हो । 

२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाले ज्यान गुमाएका थिए । त्यसको विरोधमा भोलिपल्ट देशव्यापी रूपमा नागरिकहरू सडकमा उत्रिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो ।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी चुनावको घोषणा गरिएको छ। सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ । यद्यपि, कुन ठाउँमा बनाउने भन्ने अझै तय भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *