सर्लाही, १८ कार्त्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत गर्न मागपक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे ।
‘अहिले मुख्य रूपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत तथा बंगलादेशतर्फ निर्यात त गरिरहेका छौँ, तर हाम्रो प्राथमिकता विद्युत् देशभित्रै खपत बढाउने हो, यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापनलगायतका काम गरी विद्युत् माग वृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘ऊर्जा दक्षता, ऊर्जा, रूपान्तरण र विद्युतकाचे आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएका छौँ ।’
वायु ऊर्जामा निजी लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आबद्ध गर्ने र भण्डारण गर्ने सरकारको नीति रहेको बताए ।
वैकल्पिक ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा रूपान्तरणमा विभिन्न दातृ निकायहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यक्षेत्र विस्तार गरिने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको ठुलो योगदान रहेको उल्लेख गरे ।
नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जाको विकास, जीविकोपार्जन सुधार, न्यून कार्बन उत्सर्जन, ऊर्जा रूपान्तरणलगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ ।
